स्तनपान गराउने दर घट्यो : जन्मिनेबित्तिकै ५५ प्रतिशत शिशुले खान पाउँछन् आमाको दूध
नेपालमा साढे दुई दशकमा पूर्ण स्तनपान गराउने दर कम हुँदै गएको छ । बच्चा जन्मिएदेखि ६ महिनासम्म लगातार स्तनपान गराउनुलाई ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ भनिन्छ । यसरी ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ गराउने दर घटेर ५६ प्रतिशतमा सीमित भएको छ ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार सन् १९९६ मा ७५ प्रतिशत महिलाले पूर्ण स्तनपान गराउँथे तर, अहिले यो घटेर ५६ प्रतिशत पुगेको छ ।
सर्वेक्षण अनुसार सन् २००१ मा ६८ प्रतिशतले स्तनपान गराएकोमा सन् २००६ मा घटेर ५३ प्रतिशतमा सीमित भएको थियो । यस्तै, सन् २०११ मा गरिएको सर्वेक्षणमा भने यो दर बढेर ७० प्रतिशत पुगेको थियो ।
परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले स्तनपान गराउने दर पछिल्लो समय घट्नुका थुप्रै कारण रहेको बताए । जसमध्ये बट्टाको दूध राम्रो भन्ने गलत बुझाइ पनि एक भएको उनको भनाइ छ ।
समाजमा बट्टाको दूधको गलत प्रचारप्रसारको प्रभावमा परी महिलाहरूले स्तनपान गराउन छाडेको उनी बताउँछन् । बट्टाको दूध खुवाउँदा झाडापखाला, कुपोषण लगायतका समस्या देखा पर्ने र बच्चालाई मृत्युको मुखमा समेत पुर्याउन सक्ने थापाले बताए ।
उनले भने, ‘कम अध्ययन गरेका महिलाले पूर्णमात्रामा आफ्ना शिशुलाई स्तनपान गराएका छन् । तर, शिक्षित महिलाहरूले स्तनपान नगराएर बट्टाको दूध खुवाउने गरेका छन् ।’
थापाले शिक्षित महिलाहरू कामकाजी हुने भएकाले पनि स्तनपान गराउने दर कम भएको बताए ।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले आमाको दूध बराबर अरु कुनै कुरा नहुने बताए । यदि आमाको दूध कम आएमा पोषिलो खानेकुरा खानेगर्दा बच्चालाई पुग्नेजति दूध आउने उनको भनाइ छ ।
उनी भन्छन्, ‘बच्चा जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूधमात्रै खुवाउनुपर्छ । त्यसपछि मात्रै अन्य खानेकुरा खुवाउनुपर्छ । अन्य खानेकुरासँगै दुई वर्षसम्म स्तनपान गराउनै पर्छ ।’
बच्चालाई आमाको दूध खुवाउँदा हुने फाइदाबारे जनचेतनामार्फत जानकारी गराउन नसक्दा पनि समस्या भएको चापागाईं बताउँछन् ।