धनुषामा नागरिकता लिन सास्ती, दिनभर लाइन लागेर रित्तै हात फर्किनुपरेको गुनासो
‘सर यी फाइल कनि देखदियौन । बौवा लक कतेक दिन एहन रौदमे आउ, परेसान भगेल छी’ नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा आएकी ममता साह कर्मचारीसित मैथिली भाषामा बिन्ती गर्दै थिइन् ।
एक हातले ६ महिनाको छोरी काखमा लिएकी उनले अर्को हातमा नागरिकता लिनका लागि तयार पारेको कागजात सहितको फाइल लिएर पटक–पटक बिन्ती गरिरहिन् । आइतबार साँझ सवा ५ बजे कोठा नम्बर १ मा खरिदार उपेन्द्र रायलाई यसरी बिन्ती बिसाउनेमा ममतासँगै ५/६ जना अरु पनि थिए । खरिदार रायले कसैको कुरा सुनेझैं गर्थे, कसैलाई टाइम सकियो भोलि आऊ भनेर फर्काउँथे । काखमा छोरी च्यापेर बिन्ती गरिरहेकी ममताको कुरा पनि उपेन्द्रले सुनेनन् ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरुले पहिले अधिकृत कर्मचारीलाई भेटेर फाइलमा तोक लगाउनुपर्छ । त्यसपछि १ नम्बर कोठामा नागरिकता बनाउन कागजात जाँच र सनाखत गरिन्छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौल टोलकी ममता पति भोगेन्द्र साहसँगै नागरिकता बनाउन आइतबार बिहानै ९ बजे नै कार्यालय पुगेकी थिइन् ।
चर्को घाममा खचाखच भिडको लाममा उनी पनि थिइन् । तर झ्यालसम्म नपुग्दै कार्यालय समय सकियो । कर्मचारीहरु उठेर हिँड्न थालेपछि निराश ममताले आफ्नो समस्या बुझिदिन्छन् कि भनेर कर्मचारी उपेन्द्र रायलाई भेटेकी थिइन् ।
त्यसअघि शुक्रबार दिनभर लाइन बसेर ६ नम्बर कोठाका अधिकृतबाट ममताले निवेदनमा तोक लगाएकी थिइन् । ‘धेरै गर्मी छ । बसमा चढेर आउनुपर्छ, बच्चा रुन्छ । आज दिनभर लाइन लागेँ । झ्याल नजिक नपुग्दै टाइम सकियो भनेर कर्मचारी उठेर हिँडे’, उनले गुनासो गरिन्, ‘बच्चा बोकेको मान्छेलाई कमसेकम कर्मचारीले विचार गरिदिनुपर्यो । यसरी कति दिन बच्चा लिएर गर्मीमा आउनु जानु ?’
सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले शिशुकी आमा र गर्भवतीलाई सहज व्यवस्था गरेको दाबी गरे । तर उनले भनेजस्तो देखिएन ।
नागरिकता लिन १ नम्बर कोठामा फाइल पेश गरेका २१ वर्षीय रामदुलार महतो पनि प्रशासन कार्यालय धाउन थालेको चार दिन भयो । मिथिला नगरपालिका–२ का रामदुलार आइतबार साँझ साढे ५ बजे कार्यालयमा भेटिँदा निराश र चिन्तित थिए । तर कर्मचराीले उनको फाइल नै छैन भनेर फर्काए ।
आइतबार चौथो दिन उनी मध्याह्न १२ बजे फेरि जिल्ला प्रशासन कार्यालय पुगे । सेवाग्राहीको चाप थियो । पटक–पटक कर्मचारीलाई फाइलको लागि गुहारे, अरु दिनजस्तै वास्तै गरेनन् । उपल्लो तहका कर्मचारीलाई गुनासो नगरेसम्म फाइल दिँदैनन् भन्ने लागेपछि दिउँसो ३ बजे उनी सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको कार्यकक्षमा पुगे ।
केशरीले ‘एक छिनपछि दिन्छ’ भनेर आश्वासन दिए । चार बजेसम्म फाइल नपाएपछि उनी फेरि रामदुलार केशरीकोमा पुगे । ‘केहीबेरमा बोलाएरै दिन्छन्’ भनेर फर्काए । एक घण्टा कुरे, तर कर्मचारीले बोलाएनन् ।
५ बजेपछि कर्मचारीहरु निस्किन थाले । सवा ५ बजे उनी फेरि सहायक प्रमुख जिल्ला अधिकारी केशरीसमक्ष पुगे । ‘म आफैं आउँदै छु’ भन्ने आश्वासन दिए । एकछिनपछि सप्रजिअ केशरी आफैं बाहिर आए ।
‘मैले आग्रह गरेँ, सर भन्दिनुस् न कर्मचारीलाई खोजेर दिन’ रामदुलारले दुखेसो पोखे ‘उहाँले खोज्दै होला भनेर हिँड्नु भयो । फाइल कसैले दिएनन् । भित्र कर्मचारीसित सोध्दा फाइल छैन भन्छन् ।’
रामदुलारले नागरिकता बनाउन चाहिने सम्पूर्ण कागजात पुर्याएर १९ असारमै निवेदन दिएका थिए । उनका बुबा शिवजी महतोको जन्मसिद्ध र आमा फुलकुमारीको वंशजको नागरिकता छ । नागरिकता ऐन संशोधन भएर जन्मका आधारमा नागरिकता पाएका नेपालीको सन्तानलाई वंशजको नागरिता दिने कानुनी व्यवस्था भएपछि उनी नागरिकता लिन गएका थिए । धेरै दिन त उनी लाइन लागेर झ्यालसम्म नपुगी घर फर्किनुपर्यो ।
‘चार दिनदेखि कर्मचारीहरु भन्छन्, भोलि आउनुस् हामी खोजेर दिन्छौं । दैनिक आउँछु तर भन्छन् तपाईंको फाइल भेटिँदैन,’ रामदुलारको
नागरिकता बनाउन ममता र रामदुलारले जस्तै सास्ती खेपिरहेका छन् मिथिला नगरपालिका २ नक्टाझिजकै १८ वर्षीय रामएकवाल महतोले ।
साउन ९ गते नै सनाखत गरेर रेकर्ड भिडाउन उनले कोठा नम्बर १ मा फाइल बुझाएका थिए । कर्मचारीले भनेअनुसार तीन दिनपछि कार्यालय पुगे । कोठाबाहिर लाइन लागे, झ्यालसम्म पुगेपछि कर्मचारीले यो कोठामा फाइल नै छैन भनेपछि फर्किए । आइतबार मध्याह् १२ बजे बल्ल उनको फाइल भेटेको कर्मचारीले सुनाए । त्यही फाँटमा बस्ने खरिदार उपेन्द्र रायले यसमा कसको हस्ताक्षर गरायौं भनेर धम्क्याएको रामएकवालले बताए ।