साढे ३ खर्बले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट
नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा वैदेशिक व्यापारको आधार १६.५८ प्रतिशतले कम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो ।
असार मसान्तसम्म १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भयो । यस वर्ष आयात १६.०८ प्रतिशत र निर्यातमा २१.४४ प्रतिशतको गिरावट आयो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत हुँदा निर्यातको हिस्सा मात्र ८.८८ प्रतिशत छ । यसले वैदेशिक व्यापारमा निर्यातको हिस्सा झनै कमजोर बनिरहेको देखाएको छ ।
सरकारले गत आवको सुरुवाती समयबाटै आयात निरुत्साहित गर्ने नीति लियो । जसमा महँगो सवारी साधनहरु आयातमा प्रतिवन्ध लागेको थियो । जसको परिणामस्वरुप आयात संकुचन भयो । सरकारले अघिल्लो वर्ष मंसिर मसान्तसम्म कायम आयात प्रतिवन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिवन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिवन्ध हटाएको थियो ।
यी प्रतिवन्धका कारण कमी आएको आयात माघपछि भने विस्तार हुन थालेको थियो । तर, आन्तरिक मागमा आएको संकुचनले अपेक्षित आयात बढ्न सकेन । फलस्वरुप समग्र वैदेशिक व्यापारको आकार खुम्चिन पुगेको हो । निर्याततर्फ भने प्राकृतिक तेल निर्यातमा आएको संकुचनको असर यस वर्ष स्पष्टसँग देखियो । जसलाई व्यापार विज्ञहरुले गत वर्ष नै अस्थिर प्रकृतिको निर्यात भनेका थिए । यसलाई अघिल्लो आवको तथ्यांकले पुष्टि गरेको छ ।
भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्का यस वर्ष आन्तरिक अर्थतन्त्रमा आएको संकुचनको असर वैदेशिक व्यापारमा परेको विश्लेषण गर्छन् । मुलुकभित्र माग र उपभोग बढ्दा आयात बढ्ने हो,’ उनले भने, ‘आवको सुरुवातमा हामीले महंगा वस्तुको आयात रोक्यौं, त्यसपछि खोल्दा माग नै भएन ।’ अहिले पनि भन्सारमा आएर ४ हजार गाडी रोकिएको सन्दर्भमा मागमा आएको संकुचन रहेको उनको भनाइ छ । यसले समग्रमा राजस्व र वैदेशिक व्यापार दुबैमा असर गरेको उनको भनाइ छ । नेपालको व्यापार आयातमा अति निर्भर रहेको भन्दै आन्तरिक अर्थतन्त्र चलायमान हुँदा स्वतः वैदेशिक व्यापार बढ्ने उनले बताए ।