धरानमा डेंगुको सङ्क्रमण बढ्दो
सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । धरानमा हालसम्म डेंगुको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगिसकेको छ ।
धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले हालसम्म धरानमा ६ जनाको डेंगुकै कारण मृत्यु भएको बताए । तीमध्ये चार जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अहिलेसम्म १९ सय ११ जनामा सङ्क्रमण देखिएको छ ।
धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई नै प्रभावकारी उपायको रूपमा लिएर काम अगाडि बढाइरहेको छ । धरान उपमहानगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएको छ ।
यस्तै धरानमा रहेका २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको मेहताले जनाए । ‘हामीले २४० वटा टोल विकास संस्थालाई डेंगु नियन्त्रण अभियानमा परिचालन गरेका छौँ । विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेर शिक्षक, विद्यार्थी पनि परिचालन गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि परिचालन गरेर सर्च एण्ड डिस्ट्रोय अभियान लिएर घरघरमा जाँदैछौँ,’ मेहताले भने ।
उनले हाल देखिएको डेंगुले महामारीको रूप नलिएको तर महामारीको रूपमा जान सक्ने संकेत गरेको बताए । ‘धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । यी चारै वडामा सबैको सहयोगमा घरघरमा पुग्ने अभियान चलाइरहेका छौँ,’ जनस्वास्थ्य अधिकृत मेहताले भने, ‘त्यसमध्ये पनि १७ नम्बर वडा बढी प्रभावित रहेको बताइएको छ । उक्त वडामा मात्रै लगभग ५ सय सङ्क्रमित छन् ।’
डेंगु तीव्र गतिमा फैलिन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु सङ्क्रमितको उपचारका लागि १ सय ५० जनासम्म अट्ने गरी छुट्टै व्यवस्था गरिएको छ । ‘त्यहाँ किटको व्यवस्था गरेका छौँ । कुर्सी, टेबल र फ्यानहरुको व्यवस्था गरेका छौँ । स्वास्थ्य कार्यालय सुनसरी र स्वास्थ्य निर्देशनालय धनकुटाबाट परीक्षण किटहरू बीपी प्रतिष्ठानलाई नै दिएका छौँ । त्यहीँबाट धरानका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,’ मेहताले भने ।
यद्यपि डेंगु परीक्षणको लागि किटको अभाव भएको मेहताले बताए । ‘अहिले किट कम छ,’ उनले भने । किट उपलब्ध भएको अवस्थामा ३ सय जनासम्मको दैनिक परीक्षण गर्न सकिने उनले बताए । किट महँगो पर्ने भएकोले उपमहानगरपालिकाले डेंगु नियन्त्रण अभियान नै प्रभावकारी बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।
‘१० लाखको किट खरिद गर्दा २ हजारमात्रै आउँछ । किट धेरै महँगो पर्ने भएकाले परीक्षण गर्नु मात्रै ठुलो कुरा नहुने देखियो । बरु नियन्त्रण अभियान नै प्रभावकारी बनाउनु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ उनले भने । उनले धरानमा हालसम्म ३१ सयको किट मार्फत परीक्षण गरिसकिएको बताए ।