लेसोथोमा बढ्दै पुरुष मिडवाइफ, मातृमृत्यु घटाउने प्रयासमा योगदान
मासेरु । अफ्रिकामा मातृमृत्यु घटाउने प्रयाससँगै प्रसूति सेवामा पुरुष मिडवाइफ (प्रसूति स्याहारकर्ता) को सहभागिता पनि बढ्दै गएको छ । यद्यपि, यस क्षेत्रमा पुरुषको संख्या अझै निकै न्यून रहेको छ ।
दक्षिणी अफ्रिकी मुलुक लेसोथोका न्ट्लहाने सेहलोहो करिब ३०० पुरुष मिडवाइफमध्ये एक हुन् । उनले विगत दुई दशकदेखि ग्रामीण क्षेत्रमा गर्भवती महिलालाई प्रसूतिपूर्व तथा प्रसूतिसम्बन्धी सेवा दिँदै आएका छन् ।
लेसोथोमा परम्परागत रूपमा मिडवाइफको काम महिलाको पेसाका रूपमा लिइन्थ्यो । तर ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव र उच्च मातृमृत्युका कारण सरकारले पुरुष नर्सलाई समेत मिडवाइफको तालिम दिन थालेको हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार लेसोथोमा प्रत्येक एक लाख जीवित जन्ममा करिब ५३० महिलाको मृत्यु हुने गरेको छ । यो विश्वको औसत मातृमृत्युदर करिब २०० भन्दा निकै बढी हो । युनिसेफका अनुसार लेसोथोमा अहिले ९२ प्रतिशत प्रसूति सेवा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रदान हुँदै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभरका मिडवाइफमध्ये पुरुषको हिस्सा एक प्रतिशतभन्दा कम छ । डब्लुएचओ र युनिसेफले प्रसूति सेवामा रहेको जनशक्तिको अभाव पूर्ति गर्न महिला र पुरुष दुवैलाई यस क्षेत्रमा आउन प्रोत्साहित गर्दै आएका छन् ।
लेसोथोको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवाका कार्यवाहक निर्देशक डा. ल्याङ मामाका अनुसार पुरुष मिडवाइफप्रति केही महिलामा अझै हिचकिचाहट भए पनि समुदायले विस्तारै उनीहरूलाई स्वीकार गर्दै गएको छ । महिलाले असहज महसुस गरेमा महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।
सेहलोहोका अनुसार पुरुष मिडवाइफका लागि महिलाको विश्वास जित्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । ग्रामीण परिवेशमै हुर्किएकाले आफूले महिलाले भोग्ने कठिनाइलाई नजिकबाट बुझेको र बिरामीलाई सहज महसुस गराउने प्रयास गर्दै आएको उनले बताए ।
युनाइटेड नेसन्स पपुलेसन फन्ड (यूएनएफपीए) की प्रतिनिधि ब्लान्डिना मोटाउङले पुरुष मिडवाइफप्रति समुदायमा मिश्रित प्रतिक्रिया रहे पनि कतिपय महिलाले उनीहरूको सावधानीपूर्ण र संवेदनशील व्यवहारको प्रशंसा गर्ने गरेको बताइन् ।
लेसोथोका महिलामा पनि पुरुष मिडवाइफप्रतिको धारणा फरक–फरक छ । केही महिला महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सहज मान्छन् भने केहीले पुरुष मिडवाइफबाट प्रसूति सेवा लिन कुनै समस्या नरहेको बताएका छन् ।
स्वास्थ्यकर्मीको अभाव र उच्च मातृमृत्युको चुनौती सामना गरिरहेको लेसोथोमा पुरुष मिडवाइफको सहभागिताले प्रसूति सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।