बागमतीको विजोग : २८ वर्षमा १७ अर्ब खर्च तर, नदीको रुप फेरिएन
काठमाडौं । बागमती नदी मात्र नभइ सभ्यता र संस्कृतिको मुहान पनि हो । नेपालको सन्दर्भमा नदी मानिसको जीवनको आधार मात्र नभइ आध्यात्मिक साइनो जोडिएको ‘गंगा’ पनि हो । बागमती सभ्यता र उपत्यकाको संस्कृतिको मुहान मानिएको बागमती नदी विगत ४ दशकदेखि दुषित मात्र नभइ दुर्गन्धित पनि छ । यस्लाई पुर्नजीवन दिन भएका धेरै प्रयासहरु यही बागमतीको गन्हाउने पानीमा बगिरहेका छन् ।
गैरसरकारी प्रयास स्वरुप सुरु भएको बागमती सरसफाई अभियानले पाँच सय १६ औं हप्ता पूरा गरिसकेको छ । २०७० साल जेठ ५ गते बाट सुरु भएको अभियानसँगै २०५२ सालमा ‘स्थापना भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २८ बर्षमा १७ अर्ब रकम बागमतीमा बगाइसकेको छ । तर बागमतीमा फोहोर भने उस्तै नै छ । बागमतीमा रहेको फोहोरले उपत्यकावासीको स्वास्थ्यमा मात्र नभएर मानसिक रुपमा पनि ठूलो असर परेको छ ।
हप्ताको दुई घण्टा गरेको स्वयमसेवाले हप्ताभर लाखौले फालेको फोहोरलाई व्यवस्थापन गर्न नसकिने अभियन्ता डा.माला खरेल निक्र्यौल छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती सरसफाई गर्नको स्थापना भएको २८ औं वर्ष भइसक्दा पनि सोचेअनुरुप काम गर्न नसकेको उनको गुनासो छ ।
उनले भनिन्,‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बागमती सरसफाई गर्नको लागि नै सुरु भएको तर २८ औं वर्ष भईसक्यो तर सोचेअनुरुप यसले जुन रिजल्ट दिनु पर्ने त्यो भएको छैन । हाम्रो अभियानले हप्ताको दुई घण्टा स्वयमसेवा भनेर सफा गर्छाैं त्यसले मानिसमा जनचेतना दिने मात्र हो हप्ता दिनभर लाखौले फालेको फोहोर टिपेर सकिँदैन ।’
काठमाडौं महानगरपालिका, सरकारी निकायसँग,स्थानीय तहले यस विषयमा चासो नदेखाएको र अभियानसँग समन्वय नहुँदा बागमतीमा सफा पानी नबगेको उनको दाबी छ ।
उनले भनिन्,‘फोहार फाल्न हुँदैन भन्ने जानकारी भएर पनि त्यहि गरिरहेका छन् यसमा काठमाडौं महानगरपालिका ,स्थानीय तहको पनि चासो हुन पर्ने हो हामीसँग समन्वय गर्नुपर्ने तर गरेको छैन् फोहोर गर्नेलाई जरिवाना दण्ड गर्ने व्यवस्था र सरकारी निकायसँग समन्वय नभएकोले यो अभियान सफल भएको छैन् ।’
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती लगायत नदी सफाइको अभियान चलाउदै आईरहेको छ । बिष्णुमती, धोवी खोला, मनहरा लगायत बागमतीका सहायक नदीमा पनि सरसफाई अभियान जारी छ । तर नदीको अवस्थामा भने कुनै सुधार आएको छैन् ।
यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता बीरेन्द्र थपलियाले बागमतीको सरसफाईलाई भनेर छुट्याएको रकम पनि प्रदेश सरकारले अन्य शीर्षकमा प्रयोग गरेकाले श्रोतको अभावले काममा ढिलाई भएकोे दावी गरे ।
उनले भने,‘श्रोतको व्यवस्थापनमा उपत्यकामा रहेको सबैबाट रजिष्ट्रेसन दस्तुरमा ०.५प्रतिशत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको श्रोतको लागि भनेर उठाएको त्यो कोषमा नआएर उपत्यकाको जथाभावी प्रदेश सरकारले अन्य शीर्षकमा प्रयोग गरेकाले श्रोतको पनि अभाव छ ।’
प्रवक्ता थपलियाले अहिले बागमती सरसफाईको ठूलो चुनौती भनेको काठमाडौं उपत्यकामा रहेको अव्यवस्थित बसोवास रहेको बताए । फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहकै रहेकाले आफूहरु पूर्वधार निमार्ण गर्ने गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने काममा मात्र रहेको बताए ।
उनले भने,‘सबै भन्दा ठूलो काठमाडौं उपत्यकामा रहेको अव्यवस्थित बसोवास पहिलो नै चुनौती हो । र श्रोत अर्को चुनौती र जनचेतनाको अभाव जस्ता कुराको सम्बोधन गर्न नसक्दा कामहरु लम्बिएको हो र भनेको बेला प्रतिफल दिन नसकेको हो । फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहकै हो । हामी सहयोगी हातमात्र हो । पूर्वधार निमार्ण गर्ने गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने मात्र काम हो हाम्रो ।’
यता काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अभियन्ताले आफ्नो उद्देश्यले काम गर्ने हुँदा महानगरपालिका सरकारी निकाय भएकाले सरकारी तवरबाट नै सरसफाईको काम गर्ने भएकोले अभियनन्ताहरुसँग समन्वय नगरेको प्रष्ट पारे ।
सरसफाईको लागि अनाधिकृत संरचना भत्काउँन खोज्दा कानून त्यसमा अवरोध बनेकोले बागमती सरसफाई अभियान अगाडि बढाउन नसकेको उनको दावी छ ।
उनले भने,‘अभियन्ताहरु आफ्नो उद्देश्य र दायित्वको साथ काम गरिरहेका छन् । तर हामीले यहाँ सरकारी निकायबाट नै काम गर्न खोजेका छौं ।’
आम नागरिकको चाहना अनुसार सरसफाई गर्न संरचना हटाउँनै पर्छ भनेर सूचना दिदा अदालतले रोक्न आदेश दिएकाले जनताको चाहनाको सम्बोधन हुन नसकेको पनि प्रवक्ता मानन्धरको भनाइ छ ।
उनले भने,‘हामी स्थानीय सरकार हो हामीले गर्नुपर्ने दायित्व अनुसारको अधिकार भित्र रहेर काम गर्न खाज्दै गर्दा कानून त्यसमा अवरोध भएकाले काम गर्न पाएका छैनौं ।’
बागमतीको पानीलाई स्वच्छ बनाउन काठमाडौं उपत्यकावासीबाट उत्सर्जित ढल मिसिन नदिन पाँच स्थानमा ढल प्रशोधन केन्द्र निर्माण गरिदैछ । गुहेश्वरी, सल्लाघारी, कोड्कु, सुन्दरीघाट र खोखनामा निर्माण हुने ढल प्रशोधन केन्द्र मध्ये गुहेश्वरीको प्रशोधन केन्द्रले मात्र पूर्णता पाएको छ । तर बाँकी प्रशोधन केन्द्र अझै बेखबर छन् ।