एपीएफका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
काठमाडौं, वैशाख १३ — गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका ६ पदका लागि नामावली सार्वजनिक गरेको हो।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ।
डीआईजी बढुवाका लागि सिफारिसमा परेका एसएसपीहरूमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन्।
बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा उक्त सिफारिस नियम ३८ को उपनियम (३) बमोजिम प्रकाशित गरिएको उल्लेख छ।
यस्तै, सिफारिसप्रति चित्त नबुझ्ने एसएसपीहरूले नियमावलीको नियम ५५ अनुसार सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था रहेको पनि सूचनामा उल्लेख गरिएको छ।