बागमती र मनोहरा किनारका अवैध संरचना हटाउन आज डोजर चलाइँदै
काठमाडौं, वैशाख १३ — सरकारले काठमाडौं उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन आजदेखि डोजर चलाउने भएको छ।
बागमती करिडोरअन्तर्गत थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रका अतिक्रमित संरचना आज र भोलिसम्म हटाइने तयारी गरिएको छ।
सुकुमवासी बस्ती हटाउन प्रहरी प्रशासन, काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायको टोली बिहानैदेखि थापाथली क्षेत्रमा परिचालन गरिएको छ।
सहरी विकास मन्त्रालय र सडक विभागका २० भन्दा बढी डोजर तथा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित क्षेत्र खाली गराइने जनाइएको छ।
प्रशासनले यसअघि सूचना जारी गर्दै शुक्रबार साँझसम्म घरटहरा खाली गर्न तथा निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देशन दिएको छ।