वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौं । वैशाख १० गते हुने उप निर्वाचनमा नेपाली सेना परिचालन हुने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललेसेना परिचालन गर्न स्वीकृति प्रदान गरेपछि उपनिर्वाचनमा सेना परिचालन हुने भएको हो । सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी व्यवस्था छ । जसअनुसार अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्ले चैत २८ मा सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरी राष्ट्रपतिलाई पत्राचार गरेको थियो ।
त्यसको दुई दिनपछि अर्थात चैत ३० गते प्रधानमन्त्री प्रचण्डले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बारा २, चितवन २ र तनहुँ १ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।