शिवचन्द्र कुशवाहा बारा २ मा उम्मेदवार बन्नका लागि माओवादीबाट जनमतमा गरे प्रवेश
नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टी प्रवेश गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी कुशवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र त्यागेका कुशवाहलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वागत गरेका हुन् । जनमत पार्टी प्रवेश गरेका कुशवाह वैशाख १० मा हुने बारा २ मा उम्मेदवार बन्ने भएका छन् ।
४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बारा २ मा उम्मेदवार बनेका कुशवाह जसपाका रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । जसपाका यादवले १३ हजार ८ सय २२ मत प्राप्त गर्दा माओवादीबाट उम्मेदवार बनेका कुशवाहले १३ हजार चार सय ६८ मत पाएका थिए ।
जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।