मन्त्री बन्नलाई देउवा निवासमा सांसदको भीड
सत्तारोहणको पर्खाइमा रहेको नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदले लबिङ तिव्र पारेका छन् ।
राष्ट्रपति निर्वाचनले सत्ता समीकरण उलटपुलट भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने कांग्रेसको तयारी छ । राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । आठदलीय गठबन्धनमा मन्त्रिपरिषद विस्तारबारे अनौपचारिक छलफल भइरहेको छ । बिहीबार प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रिपरिषद विस्तारको गृहकार्य भइरहेको बताएका थिए । आठ दलीय गठबन्धनमा केन्द्र र सातै प्रदेशको सरकारका साथै संसदीय समिति सभापतिमा एकैपटक गठबन्धनभित्र सहमतिको तयारी छ ।
कांग्रेस, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा र जनमोर्चा सरकार बाहिरै छन् । सांसदको सङ्ख्याको अनुपातमा मन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमा कांग्रेस छ । गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमा कांग्रेसको दाबी छ ।