अख्तियारले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्नेविरुद्ध मुद्दा चलायो
अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा चलाएको छ । सरकारी साक्षीका रुपमा पेश गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सिन्धुपाल्चोकस्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरुलाई साक्षीका रुपमा अदालतमा पेश गरिएको थियो । तर, इन्जिनियर भोगेन्द्र प्रसाद साहसमेतको मुद्दामा घुसवापतको रकम दिएको भनिएका बद्री समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यले बयान फेरेका थिए ।
विशेष अदालत समक्ष वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जिवीविरुद्ध २९ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।