सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयक तत्काल अगाडि बढाउने
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छन् । सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएका हुन् ।
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन् । उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरु परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन् ।
आमसञ्चार क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुनु भनेको राज्यको सबलिकरण हुनु सरह रहेको बताइन् । उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्नअंगका रुपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।