सभामुख र उपसभामुखको कार्यकाल आयोगले निश्चित गर्ने होइन
निर्वाचन आयोगले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको छ ।
अध्यक्ष तिमल्सिनाको निर्देशनमा उनका निजी सचिव सुशीला आचार्यले गत बिहीबार ‘…प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनु हुन निर्देशानुसार अनुरोध छ’ भनेर निर्वाचन आयोगमा पत्र पठाएकी थिइन् ।
शुक्रबार नै जवाफ पठाएर आयोगले निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको बताएको हो । ‘निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानून र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिन्छ’, आयोगले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई पठाएको पत्रमा भनिएको छ ।
तथापि, प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरुको कार्यावधि निक्र्यौल हुनुपर्छ भन्ने आयोगको मत रहेको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘…नेपाल सरकारबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको लागि निर्वाचनको मिति तोकिई मतपत्र छपाई समेत गरी निर्वाचनको सघन रुपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधार मानी प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यको कार्यावधि निक्र्यौल हुनुपर्छ भन्ने आयोगको मत रहेको छ ।’