पूर्वाधार विकास समितिमा मन्त्री अनुपस्थित, सभापति गजुरेलद्वारा स्पष्टीकरण माग
काठमाडौं — प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अनुपस्थित भएपछि समितिका सभापति आशिष गजुरेलले असन्तुष्टि जनाउँदै मन्त्रालयसँग औपचारिक स्पष्टीकरण माग गरिने बताएका छन्।
मंगलबार बसेको समितिको बैठकमा सभापति गजुरेलले पूर्वजानकारी गराएर बैठक बोलाइए पनि मन्त्री अनुपस्थित हुनु गम्भीर विषय भएको टिप्पणी गरे। उनले मन्त्रालयसँग छलफल गरेर मन्त्री किन उपस्थित नभएको भन्नेबारे स्पष्टिकरण लिइने जानकारी दिए।
उनका अनुसार बैठकको एजेन्डा अत्यन्तै महत्वपूर्ण भएकाले मन्त्रीको उपस्थिती अनिवार्य थियो। उनले निर्माण तथा यातायात क्षेत्रमा समाधान गर्नुपर्ने धेरै समस्या रहेकाले मन्त्रालय समितिप्रति उत्तरदायी हुनुपर्ने स्पष्ट पारे।
सभापति गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापन जस्ता विषयहरू गम्भीर भए पनि सरकारको चासो कमजोर देखिएको आरोप समेत लगाए। नेपालमा दैनिक औसत सात जनाको सडक दुर्घटनामा मृत्यु हुने तथ्यांक उल्लेख गर्दै उनले सडक सुरक्षा राष्ट्रिय चिन्ताको विषय बनेको बताए।
बैठकमा विभिन्न सांसदहरूले पनि मन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनेन्द्र कार्की, नेपाली कांग्रेसकी सांसद बासना थापा र नेकपा एमालेकी सांसद नीता घतानीले समेत मन्त्री अनुपस्थितिलाई लिएर प्रश्न उठाएका थिए।
समितिले मन्त्रीको अनुपस्थितिबारे मन्त्रालयसँग औपचारिक जवाफ माग्ने तयारी गरेको छ।