रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल परिवर्तन, अब भरतपुरमा हुने
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। यसअघि रत्ननगर नगरपालिका–टाँडीस्थित होटल स्टारमा गर्ने तय गरिएको महाधिवेशन अब भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ।
पार्टी केन्द्रीय सदस्य राजन गौतमका अनुसार स्थान परिवर्तनसँगै टाँडीमा करिब ६ हजार क्षमताको बाँसको पण्डाल निर्माण गर्ने काम स्थगित गरिएको छ।
आगामी असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि सहभागीहरूको आवास व्यवस्थापन सौराहा, रत्ननगर र भरतपुरका होटलहरूमा मिलाइएको छ।
महाधिवेशन तयारीका लागि पार्टीको स्थानीय जिल्ला तथा नगर कमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा उपसमिति गठन गरी काम अघि बढाइएको गौतमले जानकारी दिए।
रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनमार्फत संगठन विस्तार, नीति तथा नेतृत्व संरचनालाई औपचारिक रूप दिने तयारी गरेको छ।