राप्रपा र रवीन्द्र मिश्रबीच भएको ४ बुँदे सहमतिमा के छ?
राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता घोषणा भएको छ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणा पत्रमा हस्ताक्षर गर्दै एकअर्कालाई हस्तान्तरण गरेका थिए।
राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुविकरण पक्षबीच भएको एकता घोषणा पत्रमा चार बुँदे सहमति उल्लेख गरिएका छन्।
पहिलो नम्बरमा मिश्रको पदबारे उल्लेख छ। ‘विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरूमा सामेल हुनेछन्,’ पहिलो बुँदामा लेखिएको छ।
यस्तै राप्रपामा मिश्रसँगै आउनेलाई कार्यसम्पादन, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन गरिने सहमति छ। त्यसमा लिङ्देन र मिश्रबीच समझदारीमा १० दिनभित्र समायोजनकका काम सक्ने उल्लेख छ।
प्रदेश तथा अन्य तहगत समायोजनका लागि राप्रपाबाट २ र मिश्र पक्षबाट २ गरी चार सदस्यीय कार्यदल बनाइएको पनि उल्लेख छ।
निर्वाचन आइसकेकोले तहगत समायोजन गर्दा काम नरोक्न र एक आपसमा मिलेर निर्वाचनका लागि जोडदार रूपमा तयारी गर्न आह्वान गर्ने सहमति पनि भएको छ।