माधव नेपालले फर्काए चोलेन्द्रलाई जवाफ, भने - ओलीलाई चुट्की बजाउँदा राणालाई किन पोलेको?
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष 'केपी ओलीलाई चुट्की बजाउँदा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई किन पोलेको हो' भन्दै प्रश्न गरेका छन्।
महाअभियोग सिफारिस समितिको बयानको क्रममा राणाले माधव नेपालको पार्टीको मुद्दाको पेशी तोकिएको दिन २०७८ फागुन १ गतेनै आफू विरूद्ध महाअभियोग दर्ता भएको बताएका थिए। राणाले माधव नेपालको नामै लिएर उनले 'चुट्की बजाएर सिध्याइदियौँ भनेको' उल्लेख गरेका थिए।
'फागुन १ गते माधव नेपालको पार्टीका १४ सांसद मुद्दाको पेशी चढेको थियो। १ गते १० बजे महाअभियोग ल्याइहाल्नुभयो। हामी सबैलाई, गठबन्धनलाई, सरकारलाई सिध्याउन खोजेको भनेर रातभरमा चुट्कीभरमा सिध्याइदियौँ भनेर भनिहाल्नुभयो नि', समितिको बयानमा राणाले भनेका थिए, 'ए हामीलाई गठबन्धन सरकारलाई सिध्याउन खोज्ने। छाति ठोकेर पिटीपिटी (चुट्की बजाएर देखाउँदै) सिध्याइदियौँ भनेर एकीकृत समाजवादीका अध्यक्षले बोल्नुभयो। प्रधानन्यायाधीशलाई महाभियोग ल्याइहाल्नुभयो। छाति पिटेर मैले लिएर आएको, मैले खत्तम गरिदिएँ भन्नुभएको छ। यो माधव नेपालको कुरा हो।'
राणाले समितिमा दिएको बयानबारे टिप्पणी गर्दै नेता नेपालले चुट्की बजाएको फोटो र भिडिओ देखाउन चुतौनीसमेत दिए।
'मैले चुट्की बजाएको थाहा छैन। देखाइदिनुहोला कृपया, चुट्की बजाएको कुनै भिडिओ वा अडिओ छ भने त्यो सबै हेरौँ', नेता नेपालले भने, 'उहाँलाई मैले चुट्की बजाएको छैन। कुनै बेला चुट्की बजाएकै हो भने केपी ओलीलाई हो। केपी ओलीलाई बजाउँदा उहाँलाई किन पोल्यो थाहा भएन। दुई वटाबीच विशेष गठबन्धन छ कि थाहा भएन।'
नेता नेपालले आफ्नो पार्टीको १४ सांसदलाई पार्टीबाट निष्काशन गरिएको हुनाले त्यसका निम्ति अदालतले फैसला गर्छ कि भन्ने चिन्ता लागेको बताए।
'जहाँसम्म १४ सांसदलाई पार्टीबाट निष्काशन गरिएको हुनाले त्यसको निम्ति अदालतले फैसला गर्छ कि भन्ने चिन्ता लागेको पक्कै हो। यसबारे अनेकौं कुरा सुनेको हो। सुनेको कुरा यथार्थ हो होइन कि उहाँले बुझ्न सक्नुहुन्छ या त थाहा पाउनेले होला', नेता नेपालले भने, 'उहाँले सरकार ढाल्नका लागि केपी ओलीसँग एक रात गोप्य वार्ता गरेको हल्ला चलेको हो। सत्य हो कि हैन उहाँले बताउनुहोला।'