मन्त्रीबारे बोल्न पनि सक्दैनन् माधव नेपाल
नेकपा एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिकमन्त्री बनेका प्रेमबहादुर आले अहिले विवादमा छन् । उनको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गालीगलौज गर्नुका साथै हातपात गरेको अडियो सार्वजनिक भएको छ ।
तर उनको विषयमा न सरकारले केही बोलेको छ, न उनको दल एकीकृत समाजवादी पार्टीले । आइतबार सम्पादक तथा पत्रकारहरुसँग भएको छलफलमा पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसबारे टिप्पणी गर्न चाहेनन् । ‘मान्छेका बारे सोध्दा जवाफ दिन गाह्रो हुन्छ,’ उनले भने, ‘यति मात्र भन्छु, कुनै पनि कुरा बोल्दा विचार पुर्याएर बोल्नुपर्छ ।’
कतिसम्म भने उनी पार्टीबाट भएका मन्त्रीहरुले करिव ८ महिना गरेको कामको समीक्षा गर्न समेत डराए । उनले आफ्नो बाध्यता सुनाए, ‘सन्तुष्ट छु भनौं, त्यो पनि समस्या । सन्तुष्ट छैन भनौं भोलिको समाचार त्यही बन्छ ।’
अध्यक्ष नेपालले ‘कामको समीक्षा गर्नुपर्छ । कमी कमजोरी रहेका छन् भने सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ । केके कमजोरी भए भन्ने मसिनो गरी खोतलखातल गर्नुपर्छ र अगाडि बढ्ने आँट गर्नुपर्छ’ भन्ने सैद्धान्तिक तर्क गर्दै प्रश्नलाई टारे ।