ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ बानेश्वरमा
काठमाडौंको नयाँ बानेश्वरमा सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ परेका छन्। निर्वाचनको दिन बिहान २ बजे काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरबाट तीनकुनेजाने सडकमा ग्यास सिलिन्डर आगो लगाएर बिस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ पर्नेमा गोरखाका लखन गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रे तेमाल गाउँपालिका-९ घर भई ललितपुरको टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुर रामप्रसाद राई गाउँपालिका-६ घर भई भक्तपुर दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङ कोटेहाङ गाउँपालिका-८ का ३६ वर्षीय विके सिं भन्ने भरतकुमार राई छन्।
वैशाख ३० गते बिहान २ बजे बानेश्वरको सडकमा अज्ञात व्यक्तिहरूले एलपिजी ग्यास सिलिन्डरमा आगो लगाएर बिस्फोट गराउन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो।