मेलम्ची सुरुङको ढोका बन्द गरियो, अब वर्षापछि मात्रै पानी आउने
मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो ।
बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ ।
गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो । अस्थायी संरचना तयार पारेर पानी सुरूङमा पथान्तरण गरिएको थियो ।