पाँचथरमा पहिले तीन पालिका जितेको एमालेले यसपालि चित्त बुझायो एउटामा
अघिल्लो निर्वाचनमा पाँचथरको तीन वटा गाउँपालिका जितेको नेकपा एमालेले यसपटक एउटा मात्र पालिका जितेको छ।
अघिल्लो निर्वाचनमा एमालेले हिलियाङ, याङवरक र कुम्मायक गरी तीनवटा पालिका जितेको थियो। यसपालि एमालेले याङवरक गाउँपालिका मात्र आफ्नो पोल्टामा पारेको छ। बाँकी आफूले जितेको दुई पालिका एमालेले कांग्रेसले बुझाएको छ।
यसपटक कांग्रेसले पाँचथरमा आठमध्ये ६ वटा पालिका जितेको छ। कांग्रेसले एमालेबाट खोसेका दुई वटा पालिकामध्ये हिलिहाङमा समरबहादुर अधिकारी र कुम्मायकमा वमप्रसाद लावती निर्वाचित भएका छन्।
यी दुवै पालिकामा कांग्रेसले चुनावी तालमेल गरेको छ। हिलिहाङमा कांग्रेसले अध्यक्ष आफूसँग राखेर उपाध्यक्ष एकीकृत समाजवादीलाई दिएको थियो। यद्यपि एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेदवार भवानीप्रसाद लिङ्देन पराजित भए।
यसअघिको निर्वाचनमा हिलिहाङमा एमालेबाट यसपालि पराजित भुवानीप्रसाद लिङ्देन विजयी भएका थिए। उनले त्यो बेला यसपालि कांग्रेसबाट निर्वाचित समरबहादुर अधिकारीलाई ७६९ मतले हराएका थिए। तर यसपटक एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीले एमालेको भोट काट्दा हिलिहाङमा कांग्रेसलाई फाइदा भएको हो।
अघिल्लो निर्वाचनमा कुम्मायकमा एमालेका जयबहादुर चेम्जोङ विजयी भएका थिए। उनले त्यो बेला यसपालि निर्वाचित बमप्रसाद लवतीलाई पराजित गरेका थिए। आफूले जितेको दुई पालिका कांग्रेसलाई बुझाउँदा अन्तिम याङवरक गाउँपालिका भने आफ्नो पोल्टामा पारेर एमालेले पाँचथरमा अस्तित्व जोगाएको छ। अन्तिम समयमा एमालेले नतिजा उल्टाउँदै याङवरकमा अध्यक्ष र उपाध्यक्षमा बाजी मारेको हो।
एमालेबाट अध्यक्षमा भीमबहादुर योङया र उपाध्यक्षमा बावा मेयाङबो विजयी भएका छन्। अध्यक्ष योङयाले ४११८ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका मविन्द्र योङयाले ४०३८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा बावा मेयाङबोले ३९९८ मत पाउँदा माओवादी केन्द्रका अर्जुन कुमार बेघआले ३६७९ मत पाएका छन्।