स्थानीय तहका सबै पदमा काँग्रेस ‘फर्स्ट’ पार्टी बन्छ : गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा काँग्रेस सबै हिसाबले ‘फस्र्ट’ पार्टी बन्ने दाबी गरेका छन् । उनको भनाइ छ, ‘काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र मत जे गने पनि हामी फस्र्ट पार्टी हुन्छौँ । यसमा मलाई कुनै सन्देह नै छैन ।’ स्थानीय तह निर्वाचनमा भएको गठबन्धनलाई विचित्रको देखेका छन् उनले । ‘स्थानीय तह निर्वाचन गठबन्धन भर्सेस एमाले होइन । दुई वटा विचित्र गठबन्धनबीच प्रतिस्पर्धा हो,’ उनी भन्छन्, ‘एमालेले नेतृत्व गरेको गठबन्धन र काँग्रेसको गठबन्धनबीचको प्रतिस्पर्धा हुन लागेको छ ।
स्थानीय तहमा अन्य दलसँग तालमेल गरेर जाने कुरा सजिलो थिएन, अहिले पनि छैन । देशभरि प्रत्येक वडामा संगठन भएको नेपाली काँग्रेस जस्तो पार्टीलाई केही ठाउँमा आफ्नो पार्टीको उम्मेदवार नहुने निर्णय गर्ने र त्यो मनाउने कुरा गाह्रो थियो र अहिले पनि छ ।
निर्वाचनको परिणामपछि मात्र यसबारे टिप्पणी गर्नु उपयुक्त होला । हाम्रो पार्टीले स्थानीय आवश्यकता र अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो अनुसार तालमेल भएको ठाउँमा सफल हुने देखिन्छ । किनभने उसले त्यसको सम्पूर्ण स्वामित्व लिने भयो । उसलै तालमेलको आवश्यकता महसुस गर्यो, उसैले सिट बाँडफाँट टुंग्यायो । अहिले उसले आफैले गरेको निर्णयलाई कार्यान्वयन गर्ने तहमा लिएर गएको छ । त्यहाँ सजिलो र सहजतापूर्वक गएको छ । तर तालमेलको स्थानीय आवश्यकता र अवस्था छैन भन्दा भन्दै पनि हामीले माथिबाट थोपर्ने गरेको ठाउँमा ब्यापक आक्रोश र विद्रोह छ । मैले सर्रर देशभरि हेर्दा त्यस्तो अवस्था देख्छु ।