मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित भरतपुर महानगरको
नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि विजय हुने सुनिश्चित भएको छ ।
आज बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनु र विजयबीचको मत अन्तर १२ हजार १४० छ ।अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो ।
भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पछि परेका छन् ।
रेनु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् ।