कांग्रेस गोरखाको मेयरमा बिहान एउटा, दिउँसो अर्कै उम्मेदवार
नेपाली कांग्रेस गोरखामा मेयरको टिकटलाई लिएर विवाद भएपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको छ।
गण्डकी प्रदेश संसदीय समितिले गोरखा नगरपालिकाको मेयरको टिकट आज बिहान विश्वदेव श्रेष्ठलाई दिएको थियो।
टिकट पाएपछि श्रेष्ठ पोखराबाट गोरखा पुगेका थिए। तर बसपार्कनजिकै एक फोटो स्टुडियोमा उनीमाथि कांग्रेसकै कार्यकर्ताले कुटपिट गरेका थिए। उनको हात र अनुहारमा चोट लागेको थियो।
मेयरको उम्मेदवारको विषयलाई लिएर करिब तीन घन्टा गोरखामा तनाव भएपछि पार्टीको केन्द्रले हस्तक्षेप गरेको छ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आधिकारिक मेयरको उम्मेदवार राजनराज पन्त भएको पत्र पठाएका छन्।
उपमेयरमा भने मसलीमाया थोकर (सपना पुन) लाई कांग्रेसले टिकट दिएको छ।