मेयरको टिकट खोसिएपछि पौडेलले भने : भिडियो झुटो हो, अध्यक्षलाई पनि भ्रममा पारियो
नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरका आकांक्षी दीपक पौडेलले पार्टीभित्रका केही षड्यन्त्रकारीले अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पारेर आफूलाई उम्मेदवार बन्नबाट रोकेको टिप्पणी गरेका छन् ।
सोमबार फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूले कामको श्रेष्ठताका आधारमा मेयरको उम्मेदवार चयन भए पनि आफ्नै पार्टीका केही षड्यन्त्रकारीले दूराग्रह राखेर चरित्र हत्या गर्न खोजेको बताए । पौडेलले पोखराको एक सुन पसलबाट सुनको सिक्री चोरेको भिडियो सार्वजनिक भएको थियो ।
पौडेलले आफूमाथि लागेको आरोपको छानबिन गर्न पनि माग गरेका छन् । ‘मेरो बारेमा आएका केही भ्रमपुर्ण समाचार सर्वथा झुट रहेको व्यहोरा सबै जनसमुदाय समक्ष प्रकट गर्दछु । यदि कुनै कमीकमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गर्दछु’ उनले भने ।
पौडेलले आफू पार्टीको इमान्दार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने बताएका छन् । उनले पार्टीको सचिवालय बैठकले आफूलाई मेयरको उम्मेदवार तोकिसकेपछि अप्रत्यासित निर्णय आएको भन्दै त्यसविरुद्ध पार्टी कमिटीमा बहस गर्ने बताएका छन् ।
‘मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिन, अर्कालाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुध्द म जीवनभर संघर्ष गरिरहनेछु’ उनले भनेका छन् ।