उम्मेदवार मनोनयनको समय सकियो, विवरण संकलनमा जुट्यो आयोग
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समयसीमा सकिएको छ । आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवार मनोनयनका लागि समय छुट्टयाएको थियो । सो समय सोमबार अपरान्ह ५ बजेसम्म थियो । मनोनयनको समय सकिएसँगै आयोग विवरण संकलनमा जुटेको छ । स्थानीय तह निर्वाचनको मतदान वैशाख ३० गते हुँदैछ ।
आयोगले उक्त दिन सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । मनोनयनपछि आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ ।
त्यसैगरी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् । दर्ता भएको मनोनयनमाथि रुजु गर्ने काम जारी रहेको आयोगले जारी गरेको विज्ञप्तिमा छ । साथै निर्वाचन आयोगले ७७ वटै जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने तयारी गरिएको पनि जनाएको छ ।