तीन महानगरमा काँग्रेस उम्मेदवार : रोक्दा रोक्दै चिरिबाबुको बाजी, शेखरलाई पनि स्थान
नेपाली काँग्रेसले महानगरपालिका प्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस संसदीय समिति बैठकले पार्टीको भागमा परेका तीन महानगरका मेयरको उम्मेदवार तय गरेको हो ।
सत्ता गठबन्धनको सहमति अनुसार तीन महानगरपालिका प्रमुख पाएको काँग्रेसले चार दिन लगाएर उम्मेदवार तय गरेको छ । गत शुक्रबारदेखि शीर्ष नेताबीच छलफल भए पनि सोमबारमात्र काँग्रेसले उम्मेदवार टुङ्ग्याएको हो ।
ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन गठबन्धनबाट उम्मेदवार बनेका छन् । काँग्रेसको ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, चन्द्र महर्जन, वर्तमान उपमेयर गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
ललितपुर महानगरको मेयरमा उम्मेदवार हुन काँग्रेसमा चिरिबाबु, प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको मुख्य दाबेदारी थियो । काँग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, जितजंग बस्नेत, ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाउन लबिङ गरेका थिए । जिल्लाका नेताहरु चिरिबाबु र प्रेमकृष्णका नाममा विभाजित भएपछि सभापति शेरबहादुर देउवाले विकल्पका रूपमा पूर्व सांसद चन्द्र महर्जनको नाममा छलफलमा अगाडि सारेका थिए । तर शीर्ष नेताको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले चिरिबाबुको पक्षमा अडान लिए । यस्तै जिल्लाबाट उनको पक्षमा मदन अमात्यको निकै जोडबल थियो ।
१४ औं महाधिवेशनमा कोइराला समूह छोडेर पराजुली सिटौला क्याम्पमा पुगेका थिए । सिटौलाको सिफारिसमा देउवा समूहबाट पराजुली केन्द्रीय सदस्यको उम्मेदवारमात्र बनेन्, विजयीसमेत भए । अहिले पनि सिटौलाले मेयरमा पराजुलीलाई दोहोर्याइ छोड्ने अठोट लिएका थिए । तर विराटनगरको मेयरमा उम्मेदवार चयनको विषयलाई शेखर कोइरालाले प्रतिष्ठाको लडाइँ बनाएपछि देउवा र सिटौला ‘ब्याक’ हुन बाध्य भए । अन्ततः शेखर कोइराला निकट नागेश कोइरालालाई काँग्रेसले विराटनगरको मेयरका रूपमा मैदानमा उतारेको छ । सभापति देउवाले विराटनगर शेखर कोइराला समूहलाई दिएर पार्टीभित्रको भागबण्डा पनि मिलाएका छन् ।