युक्रेनमाथि आक्रमण गरेपछि बाँकी विश्वबाट रूस एक्लियो
गत बिहीबार बिहान छिमेकी युक्रेनमाथि आक्रमण घोषणा गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सायद सोचेका थिएनन्, दुनियाँ यति जेलिएको छ भनेर।
विश्वव्यापिकरणको युगमा पनि उनले दशकौं वर्षअघि सेना पठाएर अर्को देश कब्जा गर्ने योजनासहित युद्ध थाले। रूसी सेनाले युक्रेनमा लडाइँ थालेको एक साता नबित्दै रूस अहिले संसारबाट एक्लिएको छ। राजनीतिक रूपमा मात्र होइन आम रूसी नागरिकको जीवनमा पनि त्यसले गम्भीर असर पारेको छ।
रूसमाथि अमेरिका, युरोपियन युनियन र अरू शक्ति राष्ट्रले लगाएका सबैभन्दा दुई ठूला प्रतिबन्धहरू हुन् अन्तर्राष्ट्रिय स्तरमा कारोबार हुने बैंकिङ प्रणाली स्विफ्ट र उडान प्रतिबन्ध।
अहिले रूसको केन्द्रीय बैंकसहित केही बैंकले स्विफ्टबाट कारोबार गर्न पाउँदैनन्। संसारभरिका ११ हजार बढी बैंक र वित्तीय संस्थाले रकम पाउन/पठाउन स्विफ्टको प्रयोग गर्छन्। रूसका प्रमुख बैंकहरूले स्विफ्ट प्रयोग गर्न नपाउने भएपछि सोमबार रूसी मुद्रामा अमेरिकी डलरको तुलनामा ३० प्रतिशत गिरावट आएको छ। यसले आयात/निर्यात प्रभावित भएर रूसमा महंगी निकै बढ्ने अनुमान गरिएको छ।
लाखौं रूसीहरूलाई सोझै प्रभाव पार्ने अर्को प्रतिबन्ध रूसका धेरै एयरलाइन्सलाई युरोपका आकाशमा उडान प्रतिबन्ध लगाइएको छ। सक्नेहरूले अहिले पनि उपलब्ध एयरलाइन्समा महंगो पैसा तिरेर युरोपका मुलुक जाने टिकट किनिरहेका छन्। तर आममान्छेलाई यो निकै सकसको विषय बनेको छ।
यीबाहेक अन्य प्रतिबन्ध पनि रूसीहरूले सामना गरिरहनुपरेको छ। सोमबार विश्व फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक युइएफएले रूसलाई सबै अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको छ। रूसले विश्वकप छनौट खेल पनि खेल्न नपाउने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि विभिन्न खेलमा रूसी अधिकारी र खेलाडीलाई समावेश गरेको छैन। विश्व खेलकुदमा दशकौंपछि कुनै देश सबैतिर एक्लिएको यो पहिलो घटना हो।
दोस्रो विश्वयुद्धपछि जर्मनीले आफूलाई शान्तिवादी मुलुकका रूपमा प्रस्तुत गर्दै आएको थियो। रूसले युक्रेनमा आक्रमण गरेपछि भने उसले सात दशक लामो आफ्नो विदेश नीति बदल्दै युक्रेनलाई हतियार बेच्ने निर्णय गरेको छ। जर्मन चान्सलर ओलाफ स्कल्जले यसलाई नयाँ वास्तविकता भनेका छन्। युरोपियन युनियनले पहिलो पटक युक्रेनलाई हतियार दिने निर्णय गरेको छ।
उता अमेरिकाका विभिन्न राज्यहरूमा संसारभरि प्रख्यात रूसी भोड्काको बिक्री गर्न छोडिएको छ। रूसी आक्रमणको विरोधमा अमेरिकामा अरू रूसी सामानको बिक्री पनि रोकिएको छ।
रूसलाई एक्लाउन जारी प्रतिबन्धको सूची अझै लामो छ। यस्ता प्रतिबन्धहरू छुट्टाछुट्टै हेर्दा साना लाग्छन् तर सबै एकैसाथ हुँदा यिनको ठूलो प्रभाव देखिन्छ।
तर सबै मुलुक रूसलाई एक्ल्याउन भने लागेका छैनन्। संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनले युक्रेनमाथि गरिएको रूसी आक्रमणको विरोध गरेको छैन। असंलग्न परराष्ट्र नीति अपनाएको चीनले कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको सबैले सम्मान गर्नुपर्ने बताउँदै आएको थियो। रूसले युक्रेनमाथि आक्रमण गर्दा भने चीनले यो विषयको निकै जटिल इतिहास भएको प्रतिक्रिया दिएको छ।
संसारकै दोस्रो ठूलो जनसंख्या भएको भारतले पनि रूसी आक्रमणको विरोध गरेको छैन। ल्याटिन अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले पनि यो विषयमा आफ्नो मुलुक तटस्थ बस्ने बताएका छन्। सिरियाका शासक बसर अल असदले त रूसी आक्रमणको इतिहासलाई सच्याउने कदम भएको बताएका छन्।