पाकिस्तानमा भारी वर्षाको कहर : चार जनाको मृत्यु, १६ घाइते
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नू जिल्लामा भारी वर्षा र तीव्र हावाहुरीका कारण चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खराब मौसमका कारण विभिन्न स्थानमा घर तथा अन्य संरचनामा क्षति पुगेको छ। घर भत्किने तथा संरचना ढल्ने घटनामा परी स्थानीय बासिन्दाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते भएका हुन्।
प्राधिकरणले तीव्र हावाहुरी र वर्षाका कारण पशुधनमा समेत क्षति पुगेको जनाएको छ। प्रभावित क्षेत्रमा स्थानीय प्रशासन र उद्धार निकायहरूले राहत तथा उद्धार कार्य जारी राखेका छन्।
अधिकारीहरूका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ। प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारीसमेत गरिएको जनाइएको छ।
विपद् व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई प्रतिकूल मौसमका बेला उच्च सतर्कता अपनाउन आग्रह गर्दै जीर्ण तथा भत्किने जोखिममा रहेका भवन र संरचनाबाट टाढा रहन अनुरोध गरेको छ।