रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
बुटवल, ३१ जेठ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।
छ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा घिमिरेले पहिलो चरणको मतदानमा सर्वाधिक १९९ मत प्राप्त गरेका थिए। तर कुल मतको ५१ प्रतिशत मत हासिल गर्न नसकेपछि उनका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको मतदान हुने तय भएको थियो। गोपालले पहिलो चरणमा ८७ मत प्राप्त गरेका थिए।
तर दोस्रो चरणको मतदान सुरु हुनुअघि नै गोपाल घिमिरेले शालिकराम घिमिरेलाई समर्थन गर्ने घोषणा गरेपछि शालिकराम सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए।
पहिलो चरणको मतदानमा रुपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रुपन्देहीकी मञ्जु भुसालले ७१ मत तथा रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।
शनिबार राति सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो। निर्वाचन परिणामसँगै लुम्बिनी प्रदेशमा रास्वपाको नयाँ नेतृत्व चयन भएको छ।