विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित पक्षद्वारा फेरि सडक अवरुद्ध
तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार-९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् ।
पीडित परिवारले फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । सोही विरोधमा स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका हुन् । श्रेष्ठ विद्यालयका छात्रावासमा पढेर अध्ययन गर्दै आएका थिए ।
छात्रावासमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नदिई छात्रावास बाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नदिइ शव लगेको पीडित पक्षको आरोप छ । स्थानीयवासी सीताराम बजगाईँले यसअघि किटानी जाहेरी लिने सहमतिपछि आन्दोलन स्थगन भए पनि अर्को दिन प्रहरी कार्यालयमा पुग्दा प्रहरीले किटानी जाहेरी नलिएको बताए ।