मोरङमा १८ महिने शिशुको हत्या अभियोगमा २ जना पक्राउ
मोरङ सुन्दरहरैचाकी १८ महिने शिशुको हत्या अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी सुन्दरहरैंचा-७ की १८ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।
घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।
सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्। उनले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान रहेको बताए।
यसैबीच मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीका अनुसार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको भन्दै आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए।