एमसिसीमा हाम्रो बुद्धिमतापूर्ण निर्णयले गठबन्धन जोगियो: प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी परियोजनाका विषयमा आफूहरूले गरेको बुद्धिमतापूर्ण निर्णयले अहिलेको सत्तारूढ गठबन्धन जोगिएको बताएका छन्।
एमसिसी परियोजना अनुमोदन गर्ने सन्दर्भमा गठबन्धनकै भविष्य के हुने हो भन्ने चर्चा चलिरहेका बेला सकारात्मक समाधान गर्न आफूहरू सफल भएको उनले बताए।
पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘एमसिसीबारे समस्याले देशमा गम्भीर प्रकृतिको असर पर्छ कि भन्ने जुन चिन्ता सर्वत्र छाएको थियो, हामीले अन्ततः सकारात्मक, रचनात्मक र बुद्धिमतापूर्ण तरिकाले समाधान निकाल्यौं, यसले अहिलेको हाम्रो गठबन्धन जोगिएको छ।’