१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन
झण्डै १५ करोड रुपैयाँको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ।
जिल्लाको सबभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रूपमा रहेको फलेवास नगरपालिका-३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो।
तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने तर उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बहाना नगरी काम सक्न निर्देशन दिए।
आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताए। आयोजनाको काम २०७४ फागुनबाट सुरू भएर पनि बजेटको अभाव, कामदारको अभाव, विद्युत विस्तार लगायतका कारण काम ढिलो भइरहेको उपभोक्ता समितिले बताउँदै आएको छ।
मन्त्रालयको टोलीसमक्ष उपभोक्ता समितिले चैत मसान्तसम्म आयोजनाको काम सकेर एक घर एकधाराको रूपमा पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ।