भरतपुरमा शिक्षक अस्पताल बनाउन मन्त्रिपरिषदको स्वीकृति
शिक्षकका लागि छुट्टै अस्पताल बनाइने भएको छ।
चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने सरकारको तयारी छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल (सुनिल) ले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव लगेका थिए।
उक्त प्रस्तावमाथि सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो। शिक्षा मन्त्री पौडेलको सचिवालयले जनाएअनुसार शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर १५ भगवानपुरमा बनाउने निर्णय भएको छ।
शिक्षक अस्पताल भरतपुरमा बनाउन सोमबारको मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिएकोसमेत शिक्षा मन्त्री पौडेलको सचिवालय स्रोतले जानकारी दिएको छ। सरकारले शिक्षकका लागि बेग्लै अस्पताल बनाउने निर्णय गर्दा यसको आलोचना भएको थियो।
कर्मचारीका लागि निजामति अस्पताल र शिक्षकका लागि शिक्षक अस्पताल बनाउँदै जाने तर सरकारी अस्पतालमा सेवा/सुविधा थप गर्नेमा ध्यान नदिइएको भन्दै आलोचनासमेत हुने गरेको छ।