नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने
नेकपा माओवादी केन्द्रकाे आज बसेकाे स्थायी कमिटी बैठकले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेकाे छ ।
आज बिहान सिंहदरबारमा बसेको स्थायी कमिटी बैठकले अदालतकाे फैसला राजनीतिक रहेकाे भन्दै पुनरावलाेकनमा जाने निष्कर्ष निकालेकाे हाे । पार्टी सचेतक देव गुरुङका अनुसार स्थायी कमिटीका सदस्यहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेर नै उक्त निष्कर्ष निकालिएकाे हाे । साे क्रममा कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठलगायत पनि छलफलमा सहभागी रहेकाे बताइएकाे छ । कानुन व्यवसायीहरूले फैसलाकाे ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन गर्न सकिने सल्लाह दिएकाे समेत बताइएकाे छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते ‘नेकपा’ नाम विवादकाे मुद्दामा तत्कालीन सत्तारूढ नेकपा दल नै अवैधानिक रहेकाे फैसला गरेकाे थियाे । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएर (नेपाल कम्युनिष्ट पार्टी) नेकपा बनेकाे थियाे । तर सर्वाेच्चकाे पछिल्लाे फैसलासँगै नेकपा विभाजन भएर दुइ पार्टी पूर्ववत् रूपमा नै फर्किएका छन् ।