पार्टी एकता जोगाउन तीनै शीर्ष नेता जिम्मेवारीबाट बाहिरिनुपर्छ : योगेश भट्टराई
नेकपा नेता योगेशकुमार भट्टराईले पार्टी नेतृत्वमा रहेका तीनै जना नेता जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका छन् । गृहजिल्ला ताप्लेजुङमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘तीनै नेता जिम्मेवारीबाट बाहिरिए नेपालको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा ठूलो गुन हुनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफूहरू प्रधानमन्त्री नबन्ने घोषणा गरे अस्पतालको बेडमा रहेको पार्टी निको भएर फर्कने उनको भनाइ छ ।
‘पहिलो सर्त प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ,’ भट्टराईले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपालले आन्दोलनको ६५ दिनको अभियानमा ६५ पटकभन्दा बढी दोहार्योउनुभएको छ कि यो आन्दोलन कसैलाई प्रधानमन्त्री बनाउन होइन । हामी पनि त्यसको लाइनमा छैनौं । साँच्चै उहाँहरुले मनबाट बोलेको हो भने घोषणा गर्नुपर्छ कि पार्टी एकताको सर्तमा हामी प्रधानमन्त्री पद त्याग गर्न तयार छौं ।’
त्यस पछि पार्टीकै कुन प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री बनाउने सर्तमा पार्टी एक ठाउँ ल्यासन सकिने उनको दाबी छ ।
‘जो पार्टीका प्रमुख भइसक्नुभयो उहाहरूले पार्टी प्रमुखबाट पनि आफूलाई बिदा गरे नेकपा डुब्दैन, पार्टी डुब्दैन,’ भट्टराईले भने, ‘त्यसपछि डाइनामिक युवा साथीहरूको सचिवालय बनाउने र त्यसैले पार्टी सञ्चालन गर्नेछ ।’ यी प्रस्ताव मान्य नभए चार/पाँचजना निश्चित नेताहरूको अध्यक्ष मण्डल बनाएर पनि पार्टी एकता जोगाउन सकिने उनले तर्क गरे ।
भट्टराई मेरिङदेन गाउँपालिका–३ दोभान बजारका अग्निपीडितलाई राहत लिएर जिल्ला आएका हुन् ।