माधव नेपाल समूहसँगको छलफल सकारात्मक : प्रदीप ज्ञवाली
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको भेटवार्ता सकारात्मक रहेको बताएका छन् ।
‘निश्कर्षमा नपुगे पनि, सारमा आजको छलफल सकारात्मक रहेको छ,’ उनले भने, ‘अब हामी विभिन्न चरणमा बस्छौं, कुराकानीहरु गर्छौं र मलाई विश्वास छ आजको छलफलले एउटा साझा धरातल निर्माण गरेको छ ।’ उनका अनुसार फागुन २८ गते अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णय स्थगन गर्नुपर्ने माग माधवकुमार नेपाल समूहले राखेको थियो ।
‘उहाँहरुले २८ गतेको बैठकमा हामी उपस्थित भएनौं । त्यसकारणले गर्दा त्यो बैठकका निर्णयहरुलाई कसरी स्वामित्व ग्रहण गर्ने, स्थगन गर्न सकिन्छ कि भनेर उहाँहरुले भन्नुभएको छ । हामीले अब अगाडि बढौं ती निर्णयहरुमा पुनरावलोकन गनुपर्ने छ, समीक्षा गर्नुपर्नेछ । केही कुराहरुमा थप सुधार गर्नुपर्ने छ भने त्यसमा छलफल गर्दै जान सकिन्छ । त्यसमा छलफल गर्दै जाऔं भन्ने आग्रह गरेका छौं’ ज्ञवालीले भने ।
दुबै पक्षले आ–आफ्ना कुरा राखेको भन्दै उनले थपे, ‘हामी ठ्याक्कै निष्कर्षमा पुगिसकेका छैनौं । एउटै विन्दुमा पुगिसकेका छैनौं ।’ नेता ज्ञवालीले आफूहरुले माधव नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न आग्रह गरेको सुनाए ।
‘उहाँहरुले ४ र ५ गते राष्ट्रिय भेला गर्ने भन्नुभएको छ । त्यो भेलाले पार्टी एकतालाई बल पुर्याउँदैन । त्यसले थप दुरी बढाउने मात्रै काम गर्छ । त्यो भेलाहरु नगरौं । बरु अब केन्द्रीय कमिटीको बैठक आपसी परामर्शबाट तय गरौं भनेर कुराकानी गर्यौं’ नेता ज्ञवालीले भने ।