भारत सरकारको अनुदान सहयोगमा बन्ने विद्यालयको शिलान्यास
भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित श्रीकान्ति भैरव माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
प्राधिकरणका अनुसार कागेश्वरी नगरपालिका–५, थलीमा पुनर्निर्माण हुन लागेको नमुना विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुने लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो । भ्याटबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ रुपैयाँमा ठेक्का सम्झौता लागेको छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमुना भवन बन्न लागेकोमा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे । ज्ञवालीले भने, ‘सामुदायिक विद्यालयहरूमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर बृद्धिमात्र होइन शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ ।’
भारतीय राजदूतावासकी मिसन उपप्रमुख खम्पाले विद्यालय पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण दुई देशबीचको मित्रताको अनुपम नमुना हुने विश्वास व्यक्त गरिन् ।
शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दीपक कुईंकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा पनि सहभागी थिए ।
फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनर्निर्माण हुन लागेको पाँच तले नमुना विद्यालयमा ६० वटा कोठा हुनेछन् ।
विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलका अनुसार विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत छन् । निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो । गत २६ माघबाट निर्माण सुरु भएको छ ।
भूकम्पपछि शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारतीय अनुदान आयोजनाअन्गर्तत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान रहेको छ ।
भारत सरकारले विद्यालय पुनर्निर्माणमा ५ करोड अमेरिकी डलर (बिहीबारको विनिमय दर ११६ अनुसार करिब ५ अर्ब ८० करोड रुपैयाँ) सहयोग गरेको छ । अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचनाहरु निर्माण हुनेछन् । तीमध्ये आठवटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनर्निर्माणको विभिन्न चरणमा छन् ।
कान्ति भैरवसहित थप ६ वटा विद्यालयको बिहीबारकै कार्यक्रममा प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्मा बीच सझदारीपत्रमा हस्ताक्षर भएको छ ।