प्रधानमन्त्री देउवा वा कसलाई मान्ने भन्ने निर्णय भएको छैन : प्रवक्ता श्रेष्ठ
नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नाराणकाजी श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वा अन्य कसलाई बनाउने निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बुधवार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले राजनीतिक स्थिरताका लागि कांग्रेस लगायत दलसँग मिलेर अगाडि बढ्ने तर, प्रधानमन्त्रीको विषयमा निर्णय भइनसकेको बताएका हुन् ।
‘प्रतिगमनका विरुद्ध कांग्रेससँग संयुक्त आन्दोलन गर्न चाहन्थ्यौं, त्यो सम्भव भएन । अहिले प्रतिनिधि सभा पुनस्र्थापना भइसकेको स्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे अध्यक्षद्वयले कांग्रेस सभापतिसँग छलफल गर्नुभएको छ,’ प्रवक्ता त्यसपछि श्रेष्ठले भने, ‘तर, देउवालाई प्रधानमन्त्री मान्ने या कसैलाई मान्ने भन्ने विषयमा निर्णय भएको छैन ।’
स्थायी कमिटी बैठकअघि प्रचण्ड र नेपालले सभापति देउवा निवास बूढानिलकण्ठ पुगेर भेटवार्ता गरेका थिए ।