ओली : चुनाव हामीले नै जित्नुपर्छ
नेकपा ओली समूहले प्रतिनिधिसभा निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ। विराटनगरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका नेताले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन्।
सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचन तोकिएकै मितिमा हुने र आफूहरूकै जित हुने दाबी गरे। ‘निर्वाचन तोकिएकै मितिमा हुन्छ’, उनले भने, ‘अब, अलमलिने बेला छैन। निर्वाचनको तयारीमा गाउँगाउँबाट सबै जुट्नुपर्छ।’ सरकारले पहिलो चरणको निर्वाचन वैशाख १७ गते र दोस्रो चरणको निर्वाचन २७ गते हुने तोकेको छ।
ओलीले आधिकारिक नेकपा आफ्नो समूह नै भएको दाबी गर्दै पार्टीको झण्डा र चुनाव चिह्न पनि आफूहरूले नै पाउने बताए। उनले नेकपा दाहाल–नेपाल समूहले सराप्ने राजनीति गरेको आरोप लगाउँदै अब सराप्ने राजनीति हैन विकास गर्ने राजनीति अघि बढाउन आफूलाई सबैको साथ आवश्यक रहेको बताए। उनले निर्वाचनविरुद्ध कुनै जाल, तिकडम भए आन्दोलनको आँधी ल्याउने चेतावनी पनि दिए। ‘निर्धारित मितिमै चुनाव हुन्छ। चुनाव हामीले नै जित्नुपर्छ। सूर्य चिह्न हामीले नै पाउँछौं। निर्वाचनविरुद्ध कुनै प्रकारको जाल, तिकडम भए फेरि पनि हाम्रो आन्दोलन अघि बढ्छ। त्यस्ता शक्तिलाई हामी आन्दोलनको बलले जित्छौं’, उनले भने। पार्टी भनेको मानिसको हुल मात्रै नभई देश र जनताप्रति समर्पित दल निर्माणमा आफूहरू जुटेको ओलीले बताए।