दिल्लीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी
पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको भारतमा स्वास्थ्य परीक्षण जारी छ ।
उनको वायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने बताइएको छ । साथै हिजोको परीक्षणपछि थप PET-SCAN र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका छन् । PET-SCAN, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुनुका साथै निदानको बारेमा अन्तिम टुंगो लाग्ने उनको सचिवालयले जनाएको छ ।
भट्टराई स्वास्थ्य उपचारको शिलशिलामा आइतबार भारत प्रस्थान गरेका थिए ।
उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भइरहेको छ ।