नागरिक आन्दोलन घोषणापत्र २०७७ : राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गरौँ
प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले विभिन्न विरोधका कार्यक्रमहरू गर्दै आएको छ । नागरिक समाजले सुरु गरेको यस आन्दोलनमा विभिन्न समूहले ऐक्यबद्धता जनाएका छन् । आन्दोलनअन्तर्गत सिंहदरबार महिला मार्च, टीयू मार्चलगायतका कार्यक्रम आयोजना भएका छन् ।
शुक्रबार टुँडिखेल मार्च आयोजना गर्दै घोषणापत्र जारी गरिएको छ ।
अधिकारसहित नागरिकहरु जागे । नागरिकहरु जागेकैले नेपाली नागरिकले आफ्नो भविष्यको फैसला आफैं गर्ने व्यवस्थाको परिकल्पना गरे । २००७ सालमा प्रजातन्त्र ल्याए । तर नागरिकहरुको परिकल्पनालाई सार्थक बनाउने उन्नत राजनीतिक व्यवस्थाको कल्पना गर्न वर्चश्वधारीहरु धेरै डराए । अझ डराउँछन् । २००७ सालयता जबजब यस्तो डर हावी भयो प्रतिगमन मौलायो । लोकतन्त्रमा घात भइरह्यो ।
अहिले नेपालमा जारी राजनीतिक गतिरोध त्यही हो । यसले स्वतन्त्रता र न्यायप्रेमी सम्पूर्ण नागरिकलाई मर्माहत तुल्याएको छ । कोरोना विश्वव्याधिको विषम परिस्थितिमा समेत जनताका आभारभूत सरोकारबाट राजनीतिक क्रियाकलापहरु विमुख रहे । दलहरु आन्तरिक कलह र शक्तिमोहमा फसे । संसदीय व्यवस्था, संवैधानिक अभ्यास र लोकतान्त्रिक मूल्यमान्यता संकटमा पारिए । यस्तो गतिरोधले नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विपक्षमा निरंकुशतालाई बलियो बनाउने पक्का छ । त्यसैले आजको संकटग्रस्त राजनीतिलाई अग्रगामी दिशा दिने ऐतिहासिक कार्यभार अहिले नागरिकहरुको काँधमा आएको छ । यो कार्यभार पूरा गर्न आमजनताले समग्र राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित गर्नु अनिवार्य छ । नेपाली समाज र राज्यलाई लोकतान्त्रिक बनाउने तथा सामाजिक न्याय स्थापित गर्ने संघर्षमा नागरिक आन्दोलनलाई बृहत्, सशक्त र सफल बनाउन सम्पूर्ण नागरिकहरुले हातेमालो गरौँ ।