प्रचण्डलाई अमेरिकी राजदूतले भेटे
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेका छन्।
अमेरिकामा जनवरी २० मा जो बाइडेन नयाँ राष्ट्रपति बनेपछि नेपालस्थित अमेरिकी दूतले भेटघाट बढाएका हुन्।
सोमबार बिहान खुमलटारमा भएो प्रचण्डसँगको भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरि महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्याएको राजदूत बेरीले बताएका छन्।
यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरे बाइडेन प्रशासनका प्राथमिकताबारे बताएका थिए। यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पहिलो प्राथमिकतामा राख्दै जलवायु परिवर्तन लगायत मुद्दालाई पन्छाएका थिए। नयाँ राष्ट्रपति बाइडेनले भने अमेरिकालाई फेरि पेरिस क्लाइमेट सम्झौतामा जोड्ने निर्णय गरेका छन्।
नेपालमा पछिल्लो समय अमेरिकी सहयोग एमसिसी विवादमा परेको छ। ट्रान्समिसन लाइनलगायत पूर्वाधार बनाउने उक्त सहयोग संसदबाट पारित गर्नुपर्नेछ। विवाद भएपछि एमसिसी प्रस्ताव संसदबाट पारित हुन सकेको छैन।