मन्त्री भट्टराई : ईयूले नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत दिनु स्वागतयोग्य
(काठमाडौँ) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिनु खुसीको कुरा भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका हुन् ।
पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुन:संरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसद्मा छलफल भइरहेको छ । संसद्बाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे ।
तर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागतयोग्य भएको बताउनुले निकट भविष्यमै कालोसूचीबाट हटने संकेतका रुपमा लिन सकिन्छ । ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्ड्यनलाई कालो सूचीमा राखेको थियो ।
नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको उनले बताए । यस्तै नेपालको वायुसेवा निगमले अस्ट्रेलिया जस्तो उड्डयन सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमा समेत सफल उडान गरिसकेकाले युरोपेली क्षेत्रमा पनि प्रतिबन्धित हुनु नपर्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।
युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेका कारण नेपालका कुनै पनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । यसबाट अन्य देशका गन्तव्यमा जान समेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ ।