एसियन गेम्स पुरुष क्रिकेट छनोट: ओमानलाई हराउँदै नेपाल फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र दुई विकेटको क्षतिमा ६४ बल बाँकी रहँदै ९.२ ओभरमा पूरा गर्यो। नेपालको जितमा लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ७ चौका र एक छक्कासहित अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेलले २० बलमा अविजित २१ रन जोडे। ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेख १ रनमै आउट भए।
यसअघि टस जितेर ब्याटिङ रोजेको ओमानलाई नेपालले १९.४ ओभरमा ९४ रनमै अलआउट गरेको थियो। नेपालको बलिङ आक्रमणमा करण केसीले चार ओभरमा एक मेडन राख्दै २० रन खर्चेर तीन विकेट लिए। सन्दीप लामिछानेले १९ रन खर्चेर दुई विकेट लिए भने सोमपाल कामीले एक मेडनसहित २६ रन दिएर दुई विकेट झारे। साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।
ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए। जुबैर अल बालुशीले २२ र अब्दुल जलीलले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। समूह चरणमा नेपालले चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको फराकिलो अन्तरले हराएको थियो।
अब नेपालले फाइनलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल सोमबार सिंगापुरमा हुनेछ।
प्रतियोगिताको नियमअनुसार सेमिफाइनल पुगेका चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्समा स्थान सुरक्षित गरेका छन्।