आज नेकपाका दुवै समूहको केन्द्रीय समिति बैठक बस्दै
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी निर्वाचनको मिति तोकेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटकाे अन्तिम संघारमा पुगेको छ ।
प्रतिनिधिसभा विघटन भएपछि दुवै समूहले आगामी रणनीति तय गर्न गुटगत भेला र बैठक बोलाउने क्रमलाई तीव्रता दिएका छन् । दुवै पक्षले एकले अर्कालाई अनुशासनको कारबाही गर्ने गरी तयारी अघि बढाएका छन् भने दुवै पक्षले आ-आफ्नो बैठकलाई नै आधिकारिक भएको दाबी गर्न थालेका छन् ।
दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपा आजैबाट औपचारिक विभाजनतर्फ जाने निश्चित भएको छ । आज प्रधानमन्त्री एवं पार्टी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहकाे अलग-अलग केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहान ९ बजे बैठक बोलाएको छ । अर्कोतर्फ पार्टी अध्यक्ष प्रचण्ड र नेपाल समूहले दिउँसो १ बजे बैठक बोलाएको छ । दुवै पक्षले एकले अर्कोलाई अनुशासनको कारबाही गर्ने उद्देश्यले आज केन्द्रीय कमिटी आह्वान गरेका हुन् । बैठकका लागि उपत्यकाबाहिर रहेका दुवै पक्षका केन्द्रीय सदस्य काठमाडौंमा भेला हुँदै छन् ।
प्रचण्ड-माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरिसकेकाे छ ।
पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको तयारी छ । प्रचण्डसहित अरू केहि नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको स्राेत बताउछ ।