प्रदीपकुमार ज्ञवाली : नेपाल-भारत सम्बन्ध सुदृढ हुने बाटोमा अघि बढ्यो
(काठमाडौँ) सरकारले भारतसँगका विवाद वार्ताबाट समाधान गर्ने बाटोमा अगाडि बढेको बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताएका हुन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले अब नेपाल-भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने बताए । उनले आगामी दिनमा हुने विभिन्न चरणका बैठकमा व्यापार, वाणिज्य, जलस्रोतका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए ।
'नेपाल-भारतबीच नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको छ,' उनले भने, 'सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन् । नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको छ । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको छ ।'
भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग शिष्टाचार भेट गरेको र नेपाल भ्रमणको क्रममा सबै विषयमा छलफल गरेको ज्ञवालीको भनाइ थियो । नेपालले भारतसँगको व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धिमा संशोधन चाहेको र त्यसबारे पनि आगामी दिनमा छलफल हुने कुरा भएको उनले जानकारी दिए ।
साथै नेपाल-भारतबीचका विभिन्न संयन्त्रहरूको छलफल आगामी दिनमा अगाडि बढ्ने भएका मन्त्री ज्ञवालीले बताए । दुवै मुलुकको उच्च स्तरको दुवै मुलुकका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक हुने तय भएको पनि उनले जानकारी दिए । भारतले बैठकको आयोजना गर्ने तयारी गरेको उनको भनाइ थियो ।