सरकारविरूद्ध आज देशभर कांग्रेस प्रदर्शन गर्दै
नेपाली कांग्रेसले आज काठमाडौंसहित ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्न लागेको छ।
सोमबार दिउँसो जुलुससहित प्रदर्शन र सभा गर्न लागिएको कांग्रेसले जनाएको छ। कांग्रेसले पदाधिकारीसहित शीर्ष नेतालाई जिल्लाहरूमा हुने कार्यक्रममा खटाएको छ।
केन्द्रीय सदस्यहरू पनि जिल्ला कार्यसमितिका मागअनुसार जिल्लाहरूमा हुने कार्यक्रमका लागि पुगेका छन्।
सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक दूरी र मास्क लगाएर प्रदर्शनमा जुट्न आग्रह गरेका थिए। देउवा मकवानपुरमा हुने कार्यक्रममा सहभागी हुँदैछन्। काठमाडौंमा दिउँसो १ बजे शान्तिबाटिकामा कोणसभा हुँदैछ।
उक्त सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्। विभिन्न ठाउँबाट प्रदर्शनसहित जुलुश शान्तिबाटिकामा आउने कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले जनाएको छ। प्रदर्शनका लागि कांग्रेसले केन्द्रबाटै दशवटा नारा पठाएको छ। संघीय गणतन्त्रका पक्षमा नारा लगाउन र वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध प्रदर्शन गर्न कांग्रेसको निर्देशन छ। सरकारले भ्रष्टाचार बढाएको आरोप लगाउँदै कांग्रेस सडक प्रदर्शनमा गएको हो।
यस्तै वरिष्ठ नेता पौडेलमाथि गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले अवरोध गरेकोमा पनि विरोधस्वरूप प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ।